Tuesday, May 27, 2014

शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा र शोधविधिको व्यवस्था : शोधविधि प्रशिक्षण पत्र


(त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागद्वारा मिति २०६८ मंसिर ९ र १० गते आयोजित शोध प्रस्ताव लेखन अभिमुखीकरण गोष्ठीमा प्रस्तुत शोधविधि प्रशिक्षण पत्र)
- डा. सुकुम शर्मा
- बालाकृष्ण अधिकारी

 १. विषय परिचय
प्रस्तुत शोधविधि प्रशिक्षण पत्रको शीर्षकले शोध प्रस्तावका दुई महत्त्वपूर्ण तत्त्वहरू पूर्वकार्यको समीक्षा र शोधविधिलाई शोध प्रस्तावमा कसरी व्यवस्थित गर्ने भन्ने कुरालाई बुझाएको छ । यस अभिमुखीकरण कार्यपत्रका मुख्य दुई पक्ष छन् : शोध प्रस्तावमा पूर्वकार्यको समीक्षाको व्यवस्थापन र शोध प्रस्तावमा शोधविधिको व्यवस्थापन । यी दुवै पक्ष शोधकार्यका लागि पनि महत्त्वपूर्ण रहेका छन् । पूर्वकार्यको समीक्षाले मूलतः प्रस्तावित शोधका समस्याहरू (शोध प्रश्न) मा आधारित प्राक्कल्पनाको पुष्टिका लागि मार्ग दर्शकको काम गर्दछ । यसले शोधका लागि सङ्कलित सामग्रीको विश्लेषण गर्ने सैद्धान्तिक र अवधारणात्मक आधार तथा ढाँचाको निर्माण गर्न सघाउ पु¥याउँछ । शोधविधि सामग्री सङ्कलन विधि, सङ्कलित सामग्री विश्लेषणको सैद्धान्तिक तथा अवधारणात्मक आधार चयन र शोधढाँचा निर्माणसँग सम्बद्ध हुन्छ र यसले शोध समस्या समाधान गर्ने वा प्राक्कल्पनाको परीक्षण गर्ने मूल मार्गको रूपमा काम गर्दछ । त्यसैले शोधका लागि पूर्वकार्यको समीक्षा र शोधविधिको महत्त्वपूर्ण भूमिका रहेको छ ।
शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा पहिले राख्ने वा शोधविधि पहिले राख्ने भन्ने दुईथरी मान्यता पनि छन् । यसको अर्थ प्राक्कथनपछि (स्मरणीय छ, साहित्यिक शोधमा प्राक्कथनलाई त्यति धेरै महत्त्व दिइँदैन) शोधविधि राख्ने वा पूर्वकार्यको समीक्षा राख्ने भन्ने हो । शोध प्रस्तावमा यी दुवैलाई कुन क्रममा राख्ने भन्दा पनि किन राख्ने र कसरी राख्ने भन्ने कुरा महत्त्वपूर्ण छ । सामान्यतया पूर्वकार्य पहिले र शोधविधि पछि प्रस्तुत गर्ने परम्परा देखिन्छ । प्रस्तुत अध्ययन पत्रमा यी दुई विषय क्षेत्रका बारेमा सैद्धान्तिक भन्दा प्रायोगिक वा उदाहरणमूलक प्रस्तुतिमा जोड दिइएको छ । यो प्रशिक्षण पत्र नेपाली विषयका स्नातकोत्तर तह शोध वर्षका शोधार्थीलाई शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा र शोधविधिलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराको प्रायोगिक अध्ययन, शिक्षण र दृष्टान्त प्रस्तुतिमा केन्द्रित छ । उक्त तहका विद्यार्थीलाई यस बारेको सामान्य सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्नु प्रस्तुत प्रशिक्षण पत्रको मूल उद्देश्य हो ।
२. शोध प्रस्तावमा पूर्वकार्यका समीक्षाको व्यवस्थापन
   शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा अनिवार्य र महत्त्वपूर्ण अङ्ग हो । यसको व्यवस्थापन बारे सङ्क्षिप्त विमर्श यहाँ प्रस्तुत गरिएको छ।
२.१ पूर्वकार्य के हो ?
बालाकृष्ण अधिकारी
 सम्बद्ध विषयमा पहिले भएका कार्यहरू (जस्तै : पुस्तक, लेख, प्रतिवेदन आदि) को व्यवस्थित रूपमा अध्ययन गरी ती सबै कार्यको क्रमबद्ध समीक्षा गर्नु पूर्वकार्यको समीक्षा हो । यसलाई साहित्यको समीक्षा, वाङ्मयको समीक्षा आदि पनि भनिएको पाइन्छ । शोध प्रक्रियाका क्रममा प्रस्तावित शोध्य विषयमा के कस्तो र के कति अध्ययन भएका छन् भन्ने जानकारी हुनु आवश्यक मानिन्छ । पूर्वकार्यबाट अनुसन्धेय विषय शीर्षकका नवीन पक्ष र अध्ययनका औचित्यको न्यायिक पुष्टि हुन्छ । यो छनोटयुक्त र आलोचनात्मक हुन्छ । पूर्वकार्यका बारेमा यी पक्षको बोध हुनु आवश्यक छ :
  • पूर्वकार्यको समीक्षा विवरण वा सूचीकरण मात्र होइन ।
  • यो अरूद्वारा आफ्ना शोधक्षेत्रमा भएका कामको छलफल हो ।
  • यो शोधक्षेत्रको ज्ञानका साथै अध्ययनका लागि सैद्धान्तिक पृष्ठभूमिको आधार हो।
  • यो पहिले भएका कार्य र आफूले गर्नखोजेका अध्ययनको सम्बन्धको आधार हो।
  • पूर्वकार्यको समीक्षाले शोधविधि स्पष्ट पार्नमा सहयोग गर्नुका साथै वस्तुगत अध्ययनको आधार पनि दिन्छ।
  • पूर्वकार्यको समीक्षाबाट शोधको मौलिक दृष्टिकोण प्राप्त हुन्छ ।
पूर्वकार्यका समीक्षाको उद्देश्य शोधको प्राज्ञिक क्षेत्र निर्धारण गर्नु हो । यो शोध शीर्षक र शोध समस्यासँग सम्बद्ध भएर गरिने विषयको खोजी वा अध्ययन हो । पूर्वकार्यको समीक्षाबाट शोध समस्या स्पष्ट हुनुका साथै उपयुक्त शोधविधि बारे जानकारी प्राप्त हुन्छ र शोधक्षेत्र निश्चित हुन्छ ।
२.२ पूर्वकार्यको समीक्षा किन गर्ने ?
शोधका लागि पूर्वकार्यको समीक्षा निम्नलिखित कारणले गर्नु आवश्यक छ :
  • शोध कार्यलाई स्तरीय बनाउन,
  • अनुसन्धान कार्य दोहोरिन नदिन,
  • समय, साधन र श्रमको बचत गर्न,
  • आफ्नो शोधका शोध्य समस्या पहिचान, छनोट र सीमाङ्कन गर्न,
  • शोधका लागि थप तथ्यहरूको सङ्कलन गर्न,
  • प्राक्कल्पनाको निर्माण गर्न,
  • यसपूर्व सम्बद्ध विषय वा शीर्षकमा के कति काम भए र के कति गर्नु पर्ने काम बाँकी छन् भन्ने कुरा थाहा पाउन,
  • शोधका विधि र पद्धतिका बारेका जानकारी लिन र उपयुक्त भए तिनको अनुसरण गरी आफ्नो शोध कार्यलाई सरल बनाउन,
  • पूर्वकार्यमा भएका कमजोरीको उचित समीक्षा गरी आफूले गर्न लागेको शोधकार्य सकेसम्म त्रुटिरहित बनाउन,
  • पूर्वकार्य, अग्रज अध्येता र अनुसन्धाताप्रति सम्मान भाव प्रकट गर्न ।
पुस्तकहरू, अनुसन्धानात्मक लेखहरू, गोष्ठी, सम्मलेन र सेमिनारका कार्यपत्र तथा कार्यविधिहरू, सरकारी र संस्थागत प्रतिवेदनहरू, विभिन्न संस्थाका शोधपत्र, शोधग्रन्थ र शोध प्रबन्धहरू, दैनिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक,अर्धवार्षिक,वार्षिक पत्रपत्रिकाहरू, सिडी, डिभिडी, इन्टरनेट र वेभ साइडका सामग्रीहरू, वृत्तचित्र आदि पूर्वकार्यको समीक्षाका सामग्री हुन् । पूर्वकार्यको समीक्षाका लागि चुनिएका सामग्रीको अध्ययन र समीक्षा गरी सैद्धान्तिक र अवधारणात्मक ढाँचाको निर्माणमा महत्त्वपूर्ण सहयोग प्राप्त हुन्छ । सम्पन्न भइ सकेका कामको परीक्षण, खण्डन वा मण्डन गर्न र नवीन ज्ञानको प्राप्तिमा पनि पूर्वकार्यले सहयोग पु¥याउँछ ।
  • शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा यस प्रकार गरिन्छ :
  • प्राप्त सामग्री कालक्रमिक रूपमा प्रस्तुत गरिन्छ ।
  • अध्ययन सामग्रीको परिचयात्मक समीक्षा गरिन्छ ।
  • समीक्षा गर्दा सामग्रीको परिचय, सामग्रीमा उठाइएको समस्या, लेखन उद्देश्य, अध्ययन विधि र आफूले गर्न लागेको शोधसँग त्यसको सम्बन्धका बारेमा विमर्श गरिन्छ ।
  • पूर्वकार्यको समीक्षामा टिप्पणी (पाद टिप्पणी) दिनु पर्दैन, मूल पाठ अन्तर्गत नै सम्बन्धित पूर्वकार्यको कालक्रम झल्काउने मिति दिई त्यससँग सम्बन्धित सम्पूर्ण विवरण सन्दर्भ सामग्री अन्तर्गत प्रस्तुत गर्नु पर्छ ।
शोधपत्रमा प्रस्तुत गरिने पूर्वकार्यको समीक्षाका भाषा, साहित्य र लोक साहित्य विषयक शोधका दिइने उदाहरणहरू यस प्रकार दिइएको छ :
उदाहरण १ : भाषिक शोधमा पूर्वकार्यको समीक्षा
शीर्षक : सिम्ताली भाषिकाको संरचना
समस्याहरू  : (१) सिम्ताली भाषिकाको वर्ण व्यवस्था के कस्तो छ ?
                (२) सिम्ताली भाषिकाको रूप व्यवस्था के कस्तो छ ?
                (३) सिम्ताली भाषिकाको वाक्य व्यवस्था के कस्तो छ ?
माथिका समस्यामा आधारित पूर्वकार्यको समीक्षाको नमुना यस प्रकार प्रस्तुत गरिएको छ :
                रामविक्रम सिजापति (२०५०) ले ‘जुम्ली भाषिकाको वर्णनात्मक अध्ययन’ शीर्षकको विद्यावारिधि शोध प्रबन्धमा भाषा वैज्ञानिक आधारमा जुम्ली भाषिकाका सङ्कलित शब्द एवम् वाक्यहरूको विश्लेषणका माध्यमबाट भाषिक क्षेत्र, भाषिक भेद आदि निर्धारण गर्दै सो भाषिकाका वर्ण विज्ञान, रूप विज्ञान र वाक्य विज्ञानको अध्ययन गरेका छन् । विषयगत रूपमा सिम्ताली भाषिका र जुम्ली भाषिका फरक भए पनि स्वतन्त्र रूपमा यिनको संरचनात्मक अध्ययन गर्न सकिने भएकाले प्रस्तावित शोधमा भाषिकाको संरचनात्मक (भाषा वैज्ञानिक) अध्ययनको सैद्धान्तिक आधार र विश्लेषणको ढाँचा निर्माणका साथै विश्लेषण प्रक्रिया निर्माणका लागि यो कार्य उपयोगी हुने देखिन्छ ।
उदाहरण २ : साहित्यिक शोधमा पूर्वकार्यको समीक्षा
शीर्षक : शाकुन्तल महाकाव्यको कृतिगत अध्ययन
समस्याहरू      : (१) शाकुन्तल महाकाव्यको वस्तु र पात्र विधान के कस्तो छ ?
                (२) शाकुन्तल महाकाव्यको परिवेश विधान र उद्देश्य के कस्तो छ ?
                (३) शाकुन्तल महाकाव्यमा भाषाशैलीको प्रयोग के कस्तो छ ?
उपर्युक्त शीर्षकका समस्याहरूमा आधारित पूर्वकार्यको समीक्षाको नमुना यस प्रकार रहेको छ :
                नित्यराज पाण्डे (२०१७) ले महाकवि देवकोटा शीर्षकको जीवनीमूलक पुस्तकमा देवकोटाका जीवनी र कृतित्वका विषयमा अध्ययन प्रस्तुत गरेका छन् । यस पुस्तकमा उनले शाकुन्तल महाकाव्यको पनि कृतिगत समीक्षा प्रस्तुत गरेका छन् । उनको समीक्षात्मक प्रस्तुतिमा जीवनीपरक र प्रभावपरक समालोचना पद्धतिको प्रयोग भएको छ । शाकुन्तल महाकाव्यको कृतिगत विश्लेषणको सैद्धान्तिक आधार, ढाँचा र प्रक्रिया निर्माणका लागि प्रस्तुत कार्य उपयोगी हुने छ ।
उदाहरण ३ : लोक साहित्यिक शोधमा पूर्वकार्यको समीक्षा
शीर्षक : कास्की जिल्लामा प्रचलित नेपाली लोकगीतको सङ्कलन र विश्लेषण
समस्याहरू      :
                (१) कास्की जिल्लामा के कस्ता लोकगीतहरू प्रचलित छन् ?
                (२) कास्की जिल्लामा प्रचलित लोकगीत के कति प्रकारका छन् ?
             माथिको शीर्षकसँग समस्याका लागि पूर्वकार्यको समीक्षा यस प्रकार गरिएको छ :
                चूडामणि बन्धु (२०५८) ले नेपाली लोकसाहित्य शीर्षकको पुस्तकमा लोक साहित्यको अध्ययन परम्पराको विस्तृत विवरण दिँदै लोकगीतको सैद्धान्तिक परिचय र वर्गीकरण प्रस्तुत गरेका छन् । यस पुस्तकमा कास्की जिल्लामा प्रचलित लोकगीतहरू उदाहरणमा परे पनि क्षेत्र विशेषमा केन्द्रित अध्ययन गरिएको देखिँदैन । प्रस्तुत शोधमा लोकगीतको सैद्धान्तिक परिचय र लोकगीत वर्गीकरणका आधार निर्माणमा यस कार्यको उपयोग गरिने छ ।
उदाहरण ४: जीवनीपरक शोधमा पूर्वकार्यको समीक्षा
शीर्षक: देवी प्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व
समस्याहरू      :
(१) देवी प्रसाद सुवेदीको जीवनीका विभिन्न सन्दर्भ के कस्ता छन् ?
(२) देवी प्रसाद सुवेदीका व्यक्तित्वका के कस्ता पाटा छन् ?
डा. सुकुम शर्मा
(३) देवी प्रसाद सुवेदीको कृतित्व के कस्तो छ ?
उपर्युक्त शोध शीर्षकका लागि पूर्वकार्यका समीक्षाको नमुना यस प्रकार दिइएको छ :
सुकुम शर्मा (२०६७) ले अभिव्यक्ति पत्रिकामा प्रकाशित “सन्दर्भमा कथा विविध” शीर्षकको लेखमा देवी प्रसाद सुवेदीको जीवनी र कृतित्वको सामान्य चर्चा गरेका छन् । यसमा जीवनीको सामान्य परिचय मात्र दिई अध्ययनलाई कृतित्वमा केन्द्रित गरिएको छ । देवी प्रसाद सुवेदीको कथाविविध कथा सङ्ग्रहको समीक्षात्मक अध्ययन गरी सामाजिक यथार्थमूलक कथाकारका रूपमा उनको मूल्याङ्कन गरिएको छ । यस लेखमा सुवेदीको कथाकारिताको मूल्याङ्कन यसरी गरिएको छ : “उनको कथा मानवीय संवेदना र जीवनमूल्यको चमक सहित नेपाली समाजको यथार्थमा जोडिएको छ” (५३) । प्रस्तुत शोधमा देवी प्रसाद सुवेदीको साहित्यिक व्यक्तित्व कृतित्व पक्षको अध्ययनका लागि (विशेषतः कथाकार व्यक्तित्व र कृतित्व) यो कार्य सहयोगी हुने छ ।
३. शोध प्रस्तावमा शोधविधिको व्यवस्थापन
शोध प्रस्तावमा शोधविधिको प्रयोग अनिवार्य मानिन्छ । यसको व्यवस्थापन बारेको समष्टि स्वरूप यस प्रकार प्रस्तुत गरिएको छ :
३.१ शोधविधि के हो ?   
शोधविधि अनुसन्धान कार्यको संचनात्मक प्रक्रियालाई बुझाउने पारिभाषिक शब्द हो । विविध विषय क्षेत्रमा विभिन्न प्रकारका अनुसन्धान विधिहरूको प्रयोग गरिन्छ । शोधविधिमा मूलतः तथ्याङ्क,सामग्री सङ्कलन (म्बतब न्बतजभचष्लन), तथ्याङ्क,सामग्री विश्लेषण (म्बतब ब्लबथिकष्क) को आधार र सामग्री विश्लेषणका सैद्धान्तिक तथा अवधारणात्मक ढाँचाको (ँचबmभधयचप) निर्माण आदि पक्षहरू पर्दछन् । त्यसैले शोधविधि भनेको सामग्री,तथ्याङ्क सङ्कलन र तथ्याङ्क,सामग्री विश्लेषणको आधार र ढाँचाको समष्टि रूप हो ।
शोधविधि प्राज्ञिक अनुसन्धानमा शोध समस्याको समाधानका लागि प्रकल्पना वा प्राक्कल्पना         (Hypothesis) र सिद्धान्तहरू (Theories) परीक्षणका लागि प्रयोग गरिन्छ । यसको अर्थ यसले नवप्रज्ञाको उन्मेष गर्छ भने विद्यमान प्रज्ञाको परीक्षण पनि गर्छ । शोधविधिलाई अनुसन्धान योजना पनि मानिन्छ । एउटा असल योजनाले अनुसन्धानलाई वैध बनाउँछ । अनुसन्धान योजनाले स्पष्ट ढङ्गले प्राक्कल्पना र असम्बद्ध चलको  मात्र परीक्षण गर्दैन बरु यसले अनुसन्धानलाई विश्वसनीय र प्रामाणिक बनाउँछ ।
शोधविधि अनुसन्धानको एक भाग हो र यो अनुसन्धान सञ्चालन गर्ने प्रक्रियासँग सम्बद्ध छ ।  यसले प्रश्नावली, अन्तर्वार्ता, अनुगमन र प्रयोगका माध्यमबाट अनुसन्धान कार्य अगाडि बढाउँछ । अर्को शब्दमा यसले शोधलाई व्यवस्थित, तार्किक र पद्धतिपूर्ण ढङ्गले अगाडि बढाउँछ ।
३.२ शोधविधि कसरी प्रयोग गरिएको छ ?
नेपाली केन्द्रीय विभागको स्नातकोत्तर तहका विद्यार्थीबाट विभिन्न कालखण्डमा सम्पन्न गरिएका शोध प्रस्ताव र शोधपत्रमा शोधविधिको समुचित प्रयोग गरिएको पाइँदैन । नेपाली केन्द्रीय विभागबाट सम्पन्न भएको शाकुन्तल महाकाव्यको कृतिपरक अध्ययन शीर्षकको शोधमा सामग्री सङ्कलन विधि र शोधविधिलाई फरक फरक शीर्षकमा राखिएको छ । उक्त शोधको परिमार्जित संस्करणमा सामग्री सङ्कलन विधि र शोधविधिमा कथन गरिएको कुरालाई यस प्रकार प्रस्तुत गरिएको छ :
१.७ सामग्रीसङ्कलनको विधि
प्रस्तुत शोधकार्यको निम्ति अपेक्षित सामग्रीहरूको सङ्कलन मुख्य रूपमा पुस्तकालयीय अध्ययनपद्धतिबाट गरिएको छ भने कतिपय सामग्रीहरूको सङ्कलन गर्दा शोधनिर्देशक, प्राध्यापक, विषयविशेषज्ञ तथा समीक्षकहरूबाट पनि मौखिक जानकारी लिइएको छ ।
१.८ शोधविधि
प्रस्तुत शोधकार्यको विषय शाकुन्तल महाकाव्यको कृतिपरक अध्ययन भएकाले तत्सम्बन्धी सामग्रीको अध्ययन गर्दा मुख्यतः महाकाव्यसम्बन्धी आधारभूत चिन्तनद्वारा स्थापित सैद्धान्तिक कोणहरूको उपयोग गरिएको छ भने खासखास स्थलहरूमा आवश्यकताअनुसार साहित्यिक वाद तथा ऐतिहासिक युगगत सन्दर्भसमेतको आड लिइएको छ ।
                माथिको उदाहरणमा दिइएका दुई ओटा शीर्षक (१.७ र १.८) भिन्न भिन्न नभएर एउटै शोधविधि अन्तर्गत राख्नु पर्ने शीर्षक हुन् । यस उदाहरणमा त्यसो गरिएको छैन । यहाँ प्रस्तुत पुस्तकालयीय अध्ययन पद्धति नभएर कार्य वा प्रक्रिया हो । पुस्तकालयीय अध्ययन कार्यबाट कृतिपरक शोधका लागि सामग्रीको सङ्कलन गर्न सकिन्छ । सामग्री सङ्कलन गर्दा “शोधनिर्देशक, प्राध्यापक, विषयविशेषज्ञ तथा समीक्षकहरूबाट पनि मौखिक जानकारी लिइएको छ” भन्ने कथनमा पनि त्रुटि देखिन्छ । अध्ययन अनुसन्धानमा सामग्रीको प्रमाणीकरणका लागि विद्वान्, विशेषज्ञहरूसँग सोधपुछ, अन्तर्वार्ता, अन्तरक्रिया गर्नु आवश्यक मानिन्छ, सङ्कलनका लागि मात्र होइन । शोध समस्याका प्रकृति अनुसार तिनको समाधानमा के कस्ता सामग्री सङ्कलन गरिएको छ भन्ने कुराको उल्लेख पनि हुनु पर्छ । सामग्रीको सङ्कलन गर्ने विभिन्न प्रक्रिया छन् र ती ती प्रक्रियाबाट सङ्कलित सामग्री कुन कुन समस्याको समाधानका लागि हुन् भन्ने तथ्य खुलाउनु अनिवार्य छ ।
उदाहरणमा उल्लेख गरिएको शोधविधि अन्तर्गत “महाकाव्यसम्बन्धी आधारभूत चिन्तनद्वारा स्थापित सैद्धान्तिक कोणहरूको उपयोग गरिएको छ” भनेर कुराले प्रस्तावना निकै जटिल भएको छ । यसमा महाकाव्य सम्बन्धी पूर्वीय सिद्धान्त वा पाश्चात्य सिद्धान्त वा दुवैको संयोजित रूपमध्ये कुनै एक वा दुई वा सबैलाई आधार बनाइएको छ भन्दा स्पष्ट हुन्छ । त्यस्तै “खासखास स्थलहरूमा आवश्यकताअनुसार साहित्यिक वाद तथा ऐतिहासिक युगगत सन्दर्भसमेतको आड लिइएको छ ।” भन्ने वाक्य शोधविधिसँग सम्बद्ध छैन किनभने महाकाव्यको कृतिपरक अध्ययन महाकाव्य सिद्धान्तका आधारमा गरिएको छ भने त्यसका लागि अन्य साहित्यिक वाद तथा ऐतिहासिक युगगत सन्दर्भको आवश्यकता पर्दैन । त्यसैले शोधविधिको बोध र प्रयोग यस शोधपत्रमा भएको मान्न सकिँदैन । यो शोधार्थीको मात्र कमजोरी नभई यस प्रकारका शोधकार्यले स्वीकृति पाउँदै जाने परम्पराले गर्दा विद्यार्थीले यसतर्फ सचेतता नदेखाएका वा देखाउन नचाहेका हुन सक्छन् ।
अहिलेसम्मका स्नातकोत्तर तहका शोध प्रस्ताव र शोधपत्रमा प्रयोग भएको शोधविधि हेर्दा शोधको शीर्षक र शोध समस्यासँग प्रत्यक्ष सम्बद्ध गराइएको छैन । यही नै शोध प्रस्ताव र सिङ्गो शोध कार्यको ठुलो त्रुटि हो । शोधमा शोधविधि औपचारिकताका लागि नभएर त्यसको अनिवार्य प्रयोगका लागि गरिन्छ । त्यसैले शोधविधिको प्रत्यक्ष सम्बन्ध शोध शीर्षक, शोध समस्या, शोध उद्देश्य, प्राक्कल्पनासँग हुन्छ र यसले पूर्वकार्यको समीक्षाबाट प्रशस्त पृष्ठपोषण प्राप्त गरेको हुन्छ । शोधविधिे समग्र शोधपत्रको संरचनागत रूपरेखा पनि निर्धारण गर्दछ ।
३.३. शोधविधि कसरी प्रस्तुत गर्ने ?
शोध प्रस्तावमा शोधविधि अन्तर्गत निम्नलिखित उपशीर्षकको योजनागत परिचय दिएको हुनु पर्छ :   (१) सामग्री सङ्कलन विधि र (२) सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा ।
३.३.१ सामग्री सङ्कलन विधि
सामग्री सङ्कलन अन्तर्गत पुस्तकालयीय कार्य, क्षेत्रीय कार्य र प्रयोगात्मक कार्यमध्ये कुनै एकबाट वा एकभन्दा बढी कार्यबाट केकस्ता सामग्रीको सङ्कलन गर्ने हो त्यसको उल्लेख गरिएको हुनु पर्छ । शोधकार्यमा दुई प्रकारका सामग्रीको प्रयोग हुन्छ : प्राथमिक वा मुख्य स्रोतबाट सङ्कलित सामग्री र द्वितीयक वा गौण स्रोतबाट सङ्कलित सामग्री । आफूले गर्दै गरेको शोधका लागि प्राथमिक स्रोतका सामग्री सङ्कलन र द्वितीयक स्रोतका सामग्री सङ्कलन गर्ने योजनाको उल्लेख पनि गरिएको हुनु पर्छ । भाषा र लोक साहित्य विषयक शोधमा क्षेत्रगत अध्ययन भएमा क्षेत्रीय कार्यबाट सङ्कलित सामग्री प्राथमिक स्रोतका र पुस्तकालयीय कार्यबाट सङ्कलित सामग्री द्वितीयक स्रोतका हुन् । शोधको विषय, विधाक्षेत्र, प्रवृत्ति आदिका आधारमा प्राथमिक र द्वितीयक स्रोतका सामग्रीको निर्धारण गर्न सकिन्छ ।
जीवनीपरक शोध (जस्तै : देवी प्रसाद सुवेदीको जीवनी, व्यक्तित्व र कृतित्व) का लागि शोध नायकबाट प्राप्त भएका सूचना र सामग्रीहरू, शोधनायकका परिवार तथा साथीबाट प्राप्त सूचनाहरू, शोध नायकका सिर्जनात्मक कृतिहरू प्राथमिक वा मुख्य सामग्री हुन् भने उनको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा भएका पूर्वाध्ययनहरू यसका द्वितीयक सामग्री हुन् । यस्तो शोधका लागि पुस्तकालयीय अध्ययन कार्य नै बढी प्रभावकारी हुन्छ । आवश्यकता अनुसार शोधपुछ, टेलिफोन वार्ता, कुराकानी, अन्तर्वाता आदि प्रक्रियाको पनि यथोचित प्रयोग गर्न सकिन्छ ।
कृतिगत शोध (जस्तै : राजेश्वरी खण्डकाव्यको कृतिगत विश्लेषण) का लागि राजेश्वरी खण्डकाव्य प्राथमिक स्रोतको सामग्री हो । यस काव्य बारेका पूर्वाध्ययनहरू द्वितीयक सामग्रीका स्रोत हुन् । कृतिगत विश्लेषणका शोधमा पुस्तकालयीय कार्यबाट नै सामग्रीको सङ्कलन गरिन्छ । शोध प्रस्तावमा पनि पुस्तकालयीय अध्ययन कार्यबाट नै प्राथमिक र द्वितीयक सामग्रीको सङ्कलन गरिने छ भनी उल्लेख गरिएको हुनु पर्छ ।
प्रवृत्तिपरक शोध (जस्तै : दयाराम श्रेष्ठको समालोचकीयता) का लागि रचनाकारका समालोचनात्मक कृतिहरू (फुटकर समेत) प्राथमिक सामग्रीका स्रोत हुन् भने उनको समालोचकीयताका बारेमा भएका पूर्वाध्ययनहरू द्वितीयक स्रोतका सामग्री हुन् । यस प्रकारको शोधका लागि पनि पुस्तकालयीय अध्ययन कार्य नै प्रभावकारी हुन्छ ।
वाद वा सिद्धान्तमा आधारित शोध (जस्तै : आधुनिक नेपाली कथामा यथार्थवाद, कठपुतलीको मन कथामा विनिर्माणवाद, पारिजातका उपन्यासमा प्रगतिवाद, माधव घिमिरेका ऐतिहासिक खण्डकाव्यमा स्वच्छन्दतावाद, गौरी खण्डकाव्यमा रसविधान आदि पूर्वीय तथा पाश्चात्य वाद र सिद्धान्तमा आधारित शोध शीर्षक) का लागि सम्बद्ध रचना वा कृति प्राथमिक स्रोतका सामग्री हुन् भने सम्बद्ध वाद वा सिद्धान्तका मान्यताहरू, त्यस्ता वाद वा सिद्धान्तका बारेमा गरिएका सैद्धान्तिक र प्रायोगिक पूर्वाध्ययन द्वितीयक स्रोतका सामग्री हुन् । यस्ता प्रकारका शोधका लागि पनि पुस्तकालयीय कार्यको प्रयोगबाट नै सामग्रीको सङ्कलन गरिन्छ ।
लोक साहित्यिक शोधमा भने विषय क्षेत्र र शीर्षक अनुसार त्यसका लागि प्रयोग हुने सामग्रीको सङ्कलन कार्य निर्धारण गर्न सकिन्छ । अरूले सङ्कलन गरेका लोक साहित्यिक विधाहरूको अध्ययन विश्लेषणमा आधारित शोधका लागि (जस्तै : नेपाली लोकगाथामा सामाजिकता, नेपाली लोकगीतमा प्रकृति चित्रण आदि) पुस्तकालयीय कार्य नै महत्त्वपूर्ण हुन्छ र यसका प्राथमिक सामग्रीका स्रोत नेपालीमा सङ्कलन गरिएका लोकगाथा (जस्तै : मोतीलाल पराजुलीको नेपाली लोकगाथा : २०४८) नै प्राथमिक स्रोतका सामग्री हुन् भने लोकगाथाका बारेमा लेखिएका वा विश्लेषण गरिएका अन्य पूर्वाध्ययनहरू यसका द्वितीयक स्रोतका सामग्री हुन् । लोक साहित्यका विधाको सङ्कलन, वर्गीकरण र विश्लेषणसँग सम्बद्ध शोधकार्यका लागि क्षेत्रीय अध्ययन कार्य नै प्रभावकारी हुन्छ र क्षेत्रीय कार्यबाट सङ्कलन गरिएका सामग्रीहरू (जस्तै : कुनै क्षेत्र विशेषका लोकगीत, लोककथा, लोकगाथा, लोकनाटक, उखान, टुक्का आदि) प्राथमिक सामग्री हुन् भने ती ती लोक साहित्यिक विधाका विधा सिद्धान्त, तिनका बारेमा गरिएका पूर्वाध्ययनहरू द्वितीयक स्रोतका सामग्री हुन् ।
३.३.२ सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा
शोध शीर्षक शोध समस्याको प्रकृति अनुसार सामग्री विश्लेषणको आधारको निर्धारण गरिन्छ । जीवनीपरक, कृतिगत, प्रवृत्तिगत, भाषापरक, शैलीपरक, वाद वा प्रणालीगत, लोक साहित्यिक आदि विभिन्न विषय क्षेत्रका शीर्षकको सैद्धान्तिक र अवधारणात्मक आधार पूर्वीय तथा पाश्चात्य साहित्यमा विकसित विभिन्न वाद, प्रणाली, पद्धति, सिद्धान्त, दर्शन, चिन्तन आदिबाटै निर्माण गरिन्छ र शोध प्रस्तावमा फलानोबाट सैद्धान्तिक वा अवधारणात्मक आधारको निर्माण गरिने छ भन्ने कथन गरे पुग्छ । यसै कथनका आधारमा पछि शोध कार्य गर्दा सामग्री विश्लेषणको आधार निर्माण गर्नु आवश्यक हुन्छ।
सामग्री विश्लेषणका आधारको प्रयोगबाट शोध कार्य गर्दा कुन विधिको उपयोग गर्ने भन्ने कुराको योजना पनि बनाउनु आवश्यक मानिन्छ । उदाहरणका लागि कृतिगत अध्ययनको शोधमा जुन विधाको कृति हो त्यही विधाको विधा सिद्धान्तले निर्धारण गरेका विश्लेषणात्मक आधारहरूको उपयोग गर्नु पर्छ । त्यसैका आधारमा शोधविधिको चयन पनि गर्नु आवश्यक हुन्छ । गुणात्मक विधिको उपयोग गर्ने वा परिमाणात्मक विधिको उपयोग गर्ने भन्ने कुराको चयन हुनु आवश्यक छ । कुनै पनि कृतिको विधा तात्त्विक  अध्ययन गुणात्मक शोधविधि अन्तर्गत पर्दछ । कृतिमा प्रयुक्त वाक्य, शब्द, क्रियापद, भाववाचक नाम आदिको खोजी गर्ने जस्ता शोध परिमाणात्मक प्रकृतिका हुन्छन् । त्यस्तै तथ्यहरूको विश्लेषणका आधारमा एउटा निष्कर्षमा पुग्ने आगमनात्मक विधिभन्दा निश्चित सैद्धान्तिक वा अवधारणात्मक उपकरणका आधारमा विश्लेषण गर्ने निगमनात्मक विधिको प्रयोग बढी सहज र प्रभावकारी मानिन्छ र यी दुवै तर्क पद्धतिको समायोजन गर्ने वैज्ञानिक शोधविधिको प्रयोग अझै सरल, तार्किक, वैज्ञानिक र परिणामी निष्कर्षमा पुग्न सक्ने खालको हुन्छ । यस कुराको कथन पनि शोध प्रस्तावको शोधविधि अन्तर्गत गरिनु पर्छ ।
शोधविधिभित्र अनिवार्य रूपले समावेश गर्नु पर्ने अर्को महत्त्वपूर्ण तत्त्व सामग्री विश्लेषणको ढाँचा हो । यो शोध प्रश्नको क्रमका आधारमा तिनको समाधान हेतु प्रस्तुत गरिने शोध योजना हो । यसमा शोध शीर्षकले निर्देश गरे अनुरूपको सिद्धान्त वा अवधारणाको व्यापक र गहन अध्ययन पश्चात् शोधका लागि सङ्कलित सामग्रीको विश्लेषणका उपकरणको निर्माण गर्नु पर्छ । जुन जुन उपकरणका आधारमा शोध प्रश्नमा उल्लिखित समस्याको क्रमिक समाधान गर्ने योजना बनाइन्छ त्यसैलाई सामग्री विश्लेषणको ढाँचा वा शोधढाँचा भनिन्छ । यो पनि सैद्धान्तिक र अवधारणात्मक गरी दुई प्रकारको हुन्छ । सैद्धान्तिक ढाँचा कुनै निश्चित सिद्धान्तले तोकेका उपकरणहरूको प्रयोगबाट निर्माण गरिन्छ । त्यसैले यसमा स्वविषयक गुण बढी हुन्छ । अवधारणात्मक ढाँचा कुनै वाद वा सिद्धान्तले तोकेका उपकरणको हुबहु प्रयोग नगरी तिनबाट प्रभावित केही नवीन प्रकारका उपकरणको संयोजनबाट निर्माण गरिन्छ । यसमा अन्तरविषयक गुण बढी रहेको हुन्छ ।
विभिन्न शोध शीर्षकका लागि उपयुक्त विश्लेषण ढाँचाका केही उदारहण यस प्रकार छन् :
उदाहरण ५ : जीवनीपरक शोध ढाँचाको नमुना
शीर्षक: भानुभक्त पोखरेलको जीवनी व्यक्तित्व र कृतित्व
समस्याहरू      :
                (१) भानुभक्त पोखरेलको जीवनीका विभिन्न सन्दर्भ के कस्ता छन् ?
(२) भानुभक्त पोखरेलका व्यक्तित्वका के कस्ता पाटा छन् ?
(३) भानुभक्त पोखरेलको कृतित्व के कस्तो छ ?
उपर्युक्त समस्याको समाधानका लागि आवश्यक शोध ढाँचाको नमुना यस प्रकार छ :
समस्या नं. (१) को समाधानका लागि निम्न लिखित अवधारणात्मक ढाँचाको प्रयोग गरिने छ :
१. विषय परिचय
२. भानुभक्त पोखरेलको जीवनीका विभिन्न सन्दर्भ
(क) जन्म र जन्म स्थान
(ख) वंश परम्परा
(ग) बाल्यकाल
(घ) शिक्षादीक्षा
(ङ) पारिवारिक पृष्ठभूमि
(च) विवाह र सन्तान
(छ) आर्थिक सामाजिक अवस्था
(ज) साहित्य लेखनको प्रारम्भ र प्रेरणा
(झ) प्रकाशनको प्रारम्भ र लेखन विकास तथा विस्तार
(ञ) स्वभाव र रुचि
(ट) संस्थागत संलग्नता
(ठ) प्राप्त सम्मान तथा पुरस्कार
३. निष्कर्ष
समस्या नं. (२) को प्रामाणिक समाधानका लागि निम्न लिखित अवधारणात्मक ढाँचाको प्रयोग गरिएको छ :
१. विषय परिचय
२. भानुभक्त पोखरेलको व्यक्तित्वका विभिन्न पक्ष
(क)  बाह्य व्यक्तित्व
(ख)    साहित्यिक व्यक्तित्व (साहित्यिक व्यक्तित्वलाई स्रष्टा व्यक्तित्व र द्रष्टा व्यक्तित्व गरी दुई भागमा विभाजन गर्ने र स्रष्टा व्यक्तित्व अन्तर्गत कवि व्यक्तित्व, नाटककार व्यक्तित्व आदि लगायत शोध नायकको साहित्यिक लेखन कुन कुन विधा क्षेत्रमा विस्तारित भएको छ ती सबै प्रकारका व्यक्तित्वको विश्लेषण गर्नु आवश्यक छ । त्यस्तै द्रष्टा व्यक्तित्वलाई समीक्षक व्यक्तित्व वा समालोचक व्यक्तित्व आदि गरी विभिन्न उपशीर्षकमा विभाजन गरेर विश्लेषण गर्नु आवश्यक छ ।
(ग)    साहित्येतर व्यक्तित्व (यसमा साहित्यिक क्षेत्रभन्दा भिन्न सामाजिक, राजनीतिक, शैक्षणिक, संस्थागत आदि विभिन्न व्यक्तित्वको पनि विश्लेषण गरिन्छ ।)
      ३. निष्कर्ष
समस्या नं. (२) मा नै केन्द्रित भएर जीवनी र व्यक्तित्वका बिचको अन्तःसम्बन्ध तथा जीवनी, व्यक्तित्व र कृतित्वका बिचको अन्तःसम्बन्धको समष्टि निरूपण गर्नु पनि आवश्यक मानिन्छ । यसो भएमा    (किनभने स्रष्टाको जीवनी, व्यक्तित्व र कृतित्व पृथक् पृथक् होइनन् र तिनका बिचमा अन्योन्याश्रित र परिपूरक सम्बन्ध हुन्छ) स्रष्टाको जीवनी, व्यक्तित्व र कृतित्वका बिचमा सम्बन्ध स्थापित हुन जान्छ र एउटा स्रष्टाका जीवनीमूलक शोधको औचित्य, महत्त्व र उपयोगिता पनि उच्च हुन जान्छ ।
समस्या नं. ३ को प्रामाणिक समाधानका लागि निम्नलिखित ढाँचाको प्रयोग गरिएको छ :
१.    विषय परिचय
२.   भानुभक्त पोखरेलका काव्यकृतिहरूको अध्ययन (यस अन्तर्गत कविता सिद्धान्तका आधारभूत मान्यता (तत्त्व) लाई आधार मानेर उनका कविता कृतिको कालक्रमिक समीक्षात्मक अध्ययन गर्ने, काव्य सौन्दर्यका आधारमा कवि पोखरेलको कवित्वको र नेपाली कविताका क्षेत्रमा उक्त कवित्वले दिएको योगदानको मूल्याङ्कन पनि गर्नु अनिवार्य हुन्छ । यसलाई पनि पुस्तकाकार काव्यकृतिको अध्ययन र फुटकर कवितात्मक रचनाको अध्ययन गरी दुई उपशीर्षक बनाएर अध्ययन गर्न सकिन्छ ।)
३.   भानुभक्त पोखरेलका समालोचनात्मक कृतिको अध्ययन (यस अन्तर्गत सैद्धान्तिक र प्रायोगिक गरी पोखरेलको समालोचना कृतिको अध्ययन गर्न सकिन्छ । यी दुवैलाई पनि समीक्षात्मक समालोचना कृतिको अध्ययन र अनुसन्धानात्मक समालोचना कृतिको अध्ययन गरी दुई दुई उपशीर्षकमा राखेर उनका समालोचनात्मक वैशिष्ट्यको मूल्याङ्कन गर्दै नेपाली सैद्धान्तिक र प्रायोगिक समालोचनाका क्षेत्रमा पु¥याएको योगदानको निरूपण गर्नु पर्छ ।)
४.     निष्कर्ष
उदाहरण ६ : कृतिगत शोध ढाँचाको नमुना
शीर्षक : शाकुन्तल महाकाव्यको कृतिगत विश्लेषण
समस्याहरू :
                (१) शाकुन्तल महाकाव्यको वस्तु र पात्र विधान के कस्तो छ ?
                (२) शाकुन्तल महाकाव्यको परिवेश विधान र उद्देश्य के कस्तो छ ?
                (३) शाकुन्तल महाकाव्यको भाषाशैली के कस्तो छ ?
उपर्युक्त शीर्षकको कृतिगत अध्ययनका लागि उपयुक्त शोध ढाँचाको नमुना यस प्रकार छ :
समस्या नं. (१) को प्रामाणिक समाधानका लागि निम्नलिखित ढाँचाको प्रयोग गरिएको छ :
                (क) विषय परिचय
                (ख) शाकुन्तल महाकाव्यको वस्तु विधान
                (ग) शाकुन्तल महाकाव्यको पात्र विधान
(घ) निष्कर्ष
समस्या नं. (२) को प्रामाणिक समाधानका लागि निम्नलिखित ढाँचाको प्रयोग गरिएको छ :
(क) विषय परिचय
(ख) शाकुन्तल महाकाव्यको परिवेश विधान
(ग) शाकुन्तल महाकाव्यको उद्देश्य
(घ) निष्कर्ष
समस्या नं. (३) को प्रामाणिक समाधानका लागि निम्नलिखित ढाँचाको प्रयोग गरिने छ :
(क) विषय परिचय
(ख) शाकुन्तल महाकाव्यको भाषा
(ग) शाकुन्तल महाकाव्यको शैली
(घ) निष्कर्ष
३.४ साहित्यिक शोधविधिको समग्र नमुना
                साहित्यिक शोध प्रस्तावमा शोधविधिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, त्यहाँ के कस्ता सूचनाहरू प्रस्तावित गरिएको हुन्छ भन्ने बारेमा माथि पनि प्रशस्त छलफल भइ सकेको छ । साहित्यिक शोधका लागि प्रस्तुत गरिने शोध प्रस्तावमा शोधविधि अन्तर्गत (क) सामग्री सङ्कलन विधि र (ख) सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा गरी दुई ओटा उपशीर्षक बनाएर त्यस सम्बन्धी कार्यविधि प्रस्तावित गरिएको हुनु पर्छ । साहित्यिक शोधमा हुने शोधविधिको नमुना यस प्रकार प्रस्तुत गरिएको छ :
उदाहरण ७      : साहित्यिक शोधविधिको नमुना
शोध शीर्षक     : नेपाली साहित्यको काल विभाजनका पद्धति
समस्याहरू      :
(१)     नेपाली साहित्यको काल विभाजन र नामकरणमा के कस्ता आधारहरूको प्रयोग भएको छ ?
(२)    नेपाली साहित्यका विभाजित कालखण्डको समयावधि निर्धारण र पुष्टिमा कल्पनाको प्रयोग के कसरी गरिएको छ ?
(३)    नेपाली साहित्यको काल विभाजनमा योजना, विधि र प्रस्तुतिको सन्तुलित प्रयोग कसरी गरिएको छ ?
३.४.१ शोधविधि
शोधविधि अन्तर्गत सामग्री सङ्कलन विधि र सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा पर्दछन् । सामग्री सङ्कलनमा प्राथमिक, द्वितीयक दुवै स्रोतका सामग्रीको सङ्कलन अपरिहार्य भएजस्तै तिनको विश्लेषणमा निश्चित सैद्धान्तिक वा अवधारणात्मक आधार तथा ढाँचा निर्माण अनिवार्य छ । यसका साथै पारिभाषीकरण, वर्गीकरण, व्याख्या, विश्लेषण, सत्यापन, अर्थापन, तुलना–प्रतितुुलना, अन्वय–व्यतिरेक, सामान्यीकरण र निष्कर्षण प्रक्रियाको सन्तुलित र समन्वयात्मक उपयोग पनि हुनु पर्दछ । प्रस्तुत शोधमा यी सबै प्रक्रियाको समुचित अनुसरण गरिने छ ।
(क) सामग्री सङ्कलन विधि
प्रस्तुत शोधका समस्याहरूको प्रामाणिक समाधानका लागि उपयुक्त तथ्य,सामग्रीको आवश्यकता पर्ने देखिन्छ । मूलतः समस्या कथनमा उल्लेख गरिएका प्रश्नहरूको प्रामाणिक समाधानका लागि तिन प्रकृतिका सामग्रीको सङ्कलन गरिने छ । पहिलो प्रकृतिका तथ्य,सामग्रीहरू नेपाली साहित्यको काल विभाजनको विश्लेषणका अवधारणा निर्माणसँग सम्बन्धित हुने छन् । त्यस्तै दोस्रो प्रकृतिका तथ्य,सामग्रीहरू नेपाली साहित्येतिहासका मूल ग्रन्थहरू, काल विभाजन सम्बन्धी विभिन्न लेख रचनाहरू, विभिन्न सेमिनार, गोष्ठी आदिमा प्रस्तुत कार्यपत्रहरू तथा पाठ्यक्रम विकास केन्द्रले विभिन्न तहका पाठ्यक्रममा प्रस्तुत गरेका समग्र नेपाली साहित्यको काल विभाजनका अवधारणाहरू हुने छन् । तेस्रो प्रकृतिका तथ्य,सामग्रीहरू नेपाली साहित्यको काल विभाजनको अध्ययन, विश्लेषण र निरूपणसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित समष्टि पूर्वकार्य हुने छन् । प्रस्तुत शोधकार्यमा उपर्युक्त तिनै प्रकृतिका तथ्य,सामग्री, जानकारी वा सूचनाहरूको सङ्कलन पुस्तकालयीय कार्यबाट गरिने छ । यसो गर्दा द्वितीयक स्रोतका सामग्रीको सङ्कलनमा भन्दा प्राथमिक स्रोतका सामग्रीको सङ्कलनमा बढी जोड दिइने छ । प्रारम्भदेखि हालसम्ममा प्रकाशित भएका समग्र नेपाली साहित्यको काल विभाजनसँग सम्बन्धित कार्यहरू नै प्रस्तुत शोधकार्यका लागि प्राथमिक स्रोतका मुख्य विश्लेषणीय सामग्री हुनेछन् । उपर्युक्त तथ्य,सामग्रीको थप प्रामाणीकरणका लागि आवश्यकता अनुसार नेपाली साहित्यको इतिहासका विभिन्न लेखक तथा समीक्षकसँग लिखित वा मौखिक रूपमा अन्तर्वार्ता समेत लिइने छ । त्यस्तै परोक्ष रूपमा नेपाली साहित्यको काल विभाजनसँग सरोकार राख्ने विभिन्न विद्वान्, समालोचक तथा साहित्यकारहरूबाट पनि थप सल्लाह, सुझाउ र सहयोग लिइने छ ।
(ख) सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा
प्रस्तुत शोधको प्राज्ञिक समाधानका लागि सङ्कलित सामग्रीको अध्ययन विश्लेषणमा साहित्येतिहास लेखनको सैद्धान्तिक ढाँचा अन्तर्गत काल विभाजनको अवधारणा र ऐतिहासिक अध्ययन विधिको प्रयोग गरिने छ । प्रारम्भदेखि हालसम्ममा प्रकाशित नेपाली साहित्यको काल विभाजनसँग सम्बन्धित सम्पूर्ण कार्यहरूमध्ये कुनमा प्रयुक्त पद्धति उपयुक्त छ भन्ने कुराको समेत विश्लेषण गरिने हुनाले यसमा तुलनात्मक विश्लेषण विधिको पनि आंशिक प्रयोग गरिने छ । काल विभाजनको अवधारणात्मक ढाँचा र ऐतिहासिक विधिका आधारमा नेपाली साहित्यको काल विभाजनका प्रयासहरूको विश्लेषण गरिने हुनाले प्रस्तुत शोधका सङ्कलित सामग्री विश्लेषणको अवधारणात्मक ढाँचा शोध समस्याका क्रम अनुसार यस प्रकार रहने छ :
समस्या नं. (१) को प्राज्ञिक र प्रामाणिक समाधानका लागि सङ्कलित सामग्रीको विश्लेषण निम्न लिखित अवधारणात्मक ढाँचाका आधारमा गरिने छ :
१. विषय परिचय
२. विश्व साहित्यमा प्रचलित काल विभाजनका आधार
३. नेपाली साहित्यमा प्रचलित काल विभाजनका आधार
(अ) प्रत्यक्ष प्रभाव पार्ने आधार
(क)    प्रसिद्ध शासकवर्गको नाम र समयको आधार
(ख)    प्रसिद्ध साहित्यिक कृतिको आधार
(ग)    राजनैतिक घटनाक्रमको आधार
(घ)    युग प्रतिनिधि साहित्य स्रष्टाको आधार
(ङ)    विशिष्ट सामाजिक अभिलक्षणताको आधार
(च)    भाषा,व्याकरण विकासको आधार
(छ)    शताब्दीको आधार
(ज)    सभ्यता विकासको आधार
(झ)    साहित्यिक प्रवृत्ति, मूल भावधारा वा वादको आधार
(ञ)    साहित्यिक पत्रपत्रिकाको आधार
(आ) अप्रत्यक्ष प्रभाव पार्ने आधार
(क)    धार्मिक प्रभावको आधार
(ख)    शैक्षिक विकास र प्रभावको आधार
(ग)    बाह्य साहित्यिक प्रभावको आधार
(घ)    आर्थिक विकासको आधार
(ङ)    प्रविधि विकासको आधार
(च)    वर्गीयताको आधार
                                ४. काल विभाजनको सर्वोत्तम आधार
                                ५. निष्कर्ष
समस्या नं. (२) को प्राज्ञिक र प्रामाणिक समाधानका लागि सङ्कलित सामग्रीको विश्लेषणमा निम्न लिखित अवधारणात्मक ढाँचाको प्रयोग गरिने छ :
१. विषय परिचय
२. विभाजित कालखण्डको निर्धाण र पुष्टिमा कल्पनाको विश्लेषण
(अ)    कालखण्डको समयावधि निर्धारण
(आ)   समयावधि निर्धारणमा मौलिकता
(इ)    अनुकरण र प्रभाव
(ई)    निर्धारित कालखण्डको समयावधि निर्धारण र त्यसको उपयुक्तता
(उ)    निर्धारित कालखण्डको पुष्टि र त्यसको उपयुक्तता
                                ३. निष्कर्ष
समस्या नं. (ग) को प्राज्ञिक र प्रामाणिक समाधानका लागि सङ्कलित सामग्रीको विश्लेषणमा निम्न लिखित अवधारणात्मक ढाँचा प्रयोग गरिने छ :
१. विषय परिचय
२. काल विभाजनका प्रतिमानको विश्लेषण
(अ) नेपाली साहित्यको काल विभाजनका योजना
(१) लम्ब योजना
(२) क्षितिजीय,तिर्यक् योजना
(आ) नेपाली साहित्यको काल विभाजनका विधि
(१) तथ्यको सङ्कलन, वर्गीकरण र विश्लेषण
(२) सामान्यीकरण र निष्कर्षण
(३) विधि चयनको प्रकृति : रैखिक वा चक्रीय
(इ) नेपाली साहित्यको काल विभाजनका प्रस्तुति
(१) आकृतिमूलक काल विभाजन
(२) विवरणात्मक काल विभाजन
(३) वर्णनात्मक काल विभाजन
(४) विश्लेषणात्मक काल विभाजन
            ३. निष्कर्ष
                माथिका विभिन्न आधार र मानदण्डको प्रयोग गरी नेपाली साहित्यको काल विभाजनका प्रयासहरूको विश्लेषण गरिने भएकाले प्रस्तुत शोधकार्यको प्रकृति प्रायोगिक, विश्लेषणात्मक र तुलनात्मक खालको हुने छ ।
                उपर्युक्त शोधविधिमा सामग्री सङ्कलन विधि, सामग्री विश्लेषणको सैद्धान्तिक आधारको चयन, सामग्री विश्लेषण योजना वा ढाँचाको निर्धारण आदि कुरालाई समग्रमा प्रस्तुत गरिएको छ । स्नातकोत्तर तहका शोधार्थीका लागि यति व्यापक र विस्तृत विधि, प्रक्रिया र ढाँचाको निर्माणको आवश्यकता र सम्भवना नभए पनि सङ्क्षेपमा यसै स्वरूपमा व्यवस्थापन गर्नु अनिवार्य हुन्छ ।
५. निष्कर्ष
भाषा, साहित्य र लोक साहित्य विषय क्षेत्रका शोध प्रस्तावमा पूर्वकार्यको समीक्षा र शोधविधिको स्पष्ट उल्लेख हुनु अनिवार्य छ । प्रस्तावित शोध्य विषय क्षेत्रसँग सम्बद्ध पूर्वाध्ययनको समीक्षाले समस्याको पहिचान गर्न, समस्यासँग सम्बद्ध सामग्रीका बारेको सूचना प्राप्त गर्न, सामग्री सङ्कलन गर्ने उपयुक्त विधि र प्रक्रिया निर्धारण गर्न, सङ्कलित सामग्री विश्लेषणका सैद्धान्तिक र अवधारणात्मक आधारको निर्माण गरी सम्यक् विश्लेषण योजना वा ढाँचा निर्माण गर्न सहयोग पु¥याउँछ । पूर्वकार्यको समीक्षाले अनुसन्धान परम्पराको सम्मान गर्न पनि मद्दत गर्छ । त्यसैले यो शोध प्रस्तावको अभिन्न अङ्ग हो भने समग्र शोध प्रक्रियाको महत्त्वपूर्ण पक्ष हो ।
शोध प्रस्तावमा शोधविधि अनिवार्य तत्त्व हो । इँटा पार्ने साँचोले एउटा निश्चित पद्धति र प्रक्रियाको प्रयोग गरी हिलो माटोबाट विशेष संरचनायुक्त इँटा तयार पारे जस्तै शोधविधिले हिलो माटोरूपी सामग्रीलाई निश्चित विधि, पद्धति र प्रक्रियाको साँचोमा हाली तिनीहरूको व्याख्या, विश्लेषण, तुलना प्रतितुलना, अन्वय व्यतिरेक, खण्डन मण्डन र सामान्यीकरण प्रक्रियाका माध्यमबाट एउटा परिणामी शोधात्मक निष्कर्षमा पु¥याउने काम गर्छ । त्यसैले इँटा बनाउनका लागि साँचोको जति महत्त्व छ त्यति नै शोधकार्यका लागि शोधविधिको महत्त्व छ ।
शोधविधि सामग्री सङ्कलन विधि, विश्लेषणको सैद्धान्तिक आधार र विश्लेषण ढाँचा वा योजनाको समष्टि रूप हो । कतिपय शोधका पुस्तकमा शोध प्रस्तावका अङ्गको चर्चा गर्दा सामग्री सङ्कलन विधिलाई छु्ट्टै र शोधविधिलाई छुट्टै राखेको पाइन्छ । यी छुट्टै नभएर शोधविधि अन्तर्गतकै उपशीर्षक हुन् । त्यसैले शोध प्रस्तावमा (१) विषय परिचय, (२) समस्या कथन, (३) उद्देश्य कथन, (४) प्राक्कल्पना (यो साहित्यिक शोधमा अनिवार्य हुँदैन), (५) पूर्वकार्यको समीक्षा, (६) शोधको औचित्य, (७) शोधविधि : (क) सामग्री सङ्कलन विधि र (ख) सङ्कलित सामग्री विश्लेषणको सैद्धान्तिक आधार र ढाँचा, (८) शोधको सीमा, (९) शोधको सम्भाव्य सङ्गठनात्मक रूपरेखा र (१०) सन्दर्भ सामग्री सूची गरी दश ओटा तत्त्वहरू हुन्छन् । शोध प्रस्तावका यी दश ओटा तत्त्वमध्ये प्राक्कल्पनालाई साहित्यिक शोधमा अनिवार्य मानिँदैन तापनि साहित्य, भाषा र लोक साहित्यका शोधकार्यमा यसको समावेश गर्नु उपयुक्त हुन्छ । प्रस्तावित शोधका बारे विविध पक्षीय ज्ञानका साथै शोध पद्धतिका बारेको ज्ञान प्राप्त गर्नका लागि पूर्वकार्यको समीक्षाको आवश्यकता रहेको छ भने समग्र शोधको संरचनात्मक योजना निर्माणका लागि र सङ्कलित सामग्रीको परीक्षण, विश्लेषण गरी शोध समस्यालाई परिणामी निष्कर्षमा पु¥याउनका लागि शोधविधिको समुचित व्यवस्थापन गर्नु अनिवार्य रहेको छ ।
सन्दर्भ सामग्री सूची
अवस्थी, महादेव. २०५८. ‘देवकोटाको खण्डकाव्यकारिता’ अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध. मानवीकी तथा सामाजिक शास्त्र सङ्काय, त्रि. वि. कीर्तिपुर ।
ओलिभर, पाउल÷Oliver, Paul. 2005. Writing Your Thesis. New Delhi : Vistaar Publication.
गणेशन, एस. एन. सन् २००७. अनुसन्धान प्रविधि सिद्धान्त और प्रक्रिया. इलाहावाद : लोकभारती प्रकारशन ।
गिरी, जीवेन्द्र देव. २०६५. ‘सिम्तालीको भाषावैज्ञानिक अध्ययन’. अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध. मानवीकी तथा सामाजिक शास्त्र सङ्काय, त्रि. वि. कीर्तिपुर ।
त्रिपाठी, वासुदेव. २०६६. साहित्य–सिद्धान्त : शोध तथा सृजनविधि. काठमाडौँ : पाठ्यसामग्री पसल ।
बन्धु, चूडामणि २०६५. अनुसन्धान तथा प्रतिवेदन लेखन (दो. सं.). काठमाडौँ : रत्‍न पुस्तक भण्डार ।
……… (सम्पा.). २०६०. अनुसन्धान विधिका केही पक्ष. काठमाडौँ : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान ।
बेल, जुडिथ,÷Bell, Judith. 2004. Doing Your Research Project. New Delhi : Viva Books Limited.
बोरा, राजमल. सन् १९९५. अनुसन्धान प्रविधि और क्षेत्र. नयी दिल्ली : राधाकृष्ण प्रकाशन प्राइवेट लिमिटेड ।
विस्कार, गिना,÷Wisker Gina. 2001. The Postgraduate Research Handbook. New York : Palgrave Publishers Limited.
शर्मा, मोहनराज र खगेन्द्र प्रसाद लुइटेल. २०६६. शोधविधि (चौ. सं.). ललितपुर : साझा प्रकाशन ।

0 comments:

Post a Comment